जोडिनुहोस
  • होमपेज
  • चीनले चाहेको ‘टिस्टा परियोजना’ बंगलादेशले भारतलाई दिँदै

चीनले चाहेको ‘टिस्टा परियोजना’ बंगलादेशले भारतलाई दिँदै

ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले टिस्टा परियोजनामा भारत र चीन दुवैले चासो दिए पनि आफूले यो परियोजना भारतले नै पूरा गरोस् भन्ने चाहेको बताएकी छन् । चीन भ्रमणबाट फर्किएपछि हसिनाले आइतबार पत्रकारसँग यस्तो बताएकी हुन् ।

एक अर्ब डलरको टिस्टा परियोजनामा भारतले सुरक्षा चासो व्यक्त गर्दै आएको थियो । बंगलादेशमा चीन र भारत दुवैको प्रभाव छ । यद्यपि, बंगलादेशमा अहिलेको हसिना सरकारलाई भारत निकट रहेको बताइने गरेको छ ।

४१४ किलोमिटर लामो टिस्टा नदी भारतबाट बगेर बंगलादेश जाने गरेको छ । गएको जुन महिनामा हसिना भारत भ्रमणमा गएको बेलामा सो परियोजनाको बारेमा विस्तृत रूपमा कुरा भएको समाचारमा उल्लेख छ ।

हसिनाले पत्रकार सम्मेलनमा भनेकी छन्, “यो परियोजना भारतले पूरा गरोस् भन्ने म चाहन्छु, किनकी टिस्टाको पानी भारतबाट आउँछ,” उनले भनिन्, “यदि, हामीलाई भारतबाट पानी चाहिएको छ भने यो काम भारतले नै गर्नुपर्छ । यो परियोजनामा जे आवश्यक हुन्छ त्यो भारतले गर्न सक्छ ।”

उनले दक्षिणी बंगाल बेवास्तामा परेको गुनासो गरेकी छन् । “मैले चीनसँग दक्षिणी क्षेत्रको विकासको लागि भनेकी छु । पिछडिएको भएका कारण त्यहाँ काम गर्न मुस्किल छ,” उनले भनेकी छन्, “मैले काम बाँडिदिएकी छु । यसो गर्दा हाम्रो काम सजिलो हुनेछ । मैले सजिलोसँग काम गर्न पाउनेछु । म सबैसँग मित्रता चाहन्छु ।”

टिस्टा परियोजनामा बाढी नियन्त्रण, कटानमा रोकलगायत काम छन् । उक्त परियोजनाअन्तर्गत बंगलादेश क्षेत्रमा एक ब्यारेज बनाउने योजना समेत छ । मुख्य उद्देश्य तटीय क्षेत्रका बासिन्दाको समस्या सम्बोधन रहेको बीबीसीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?