चितवनको सिमलतालमा दुइटा गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय भएको छ।
कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय दिइएको कार्यदलका संयोजक छवि रिजालले बताए।
‘गृहमन्त्रीबाट सात दिन समय थप भएको जानकारी आएको छ। हामीले दुर्घटनास्थलको अध्ययन, दुर्घटनाबाट बाँचेकाहरूसँगको कुराकानी र सरोकारवालासँग छलफल गरेका छौं,’ रिजालले भने, ‘प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको हो।’
अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए।
‘हामीले घटनाका सम्बन्धमा विस्तृत अध्ययन गरेका छौं, स्थानीयबासी, दुर्घटनाका घाइतेसँग कुराकानी गरेका छौं। राजमार्ग सञ्चालनका क्रममा अपनाउन नसकिएको सावधानी, सडक सुरक्षासँग जोडिएका विषयहरू पहिल्याएका छौं। त्यही आधारमा प्रतिवेदन तयार पारेर बुझाउनेछौं,’ उनले भने।
कार्यदलको अध्ययनले पनि माथिल्लो भेगबाट लेदोसहितको भेलबाढी आएको र दुई वटा बगाएको देखाएको छ। सडक डिभिजन भरतपुरले यही कुरालाई औंल्याएको थियो।
सिमलतालको भेलबाढी गएको स्थान सिँदुरे गहिरोमाथि भिरालो परेको जमिन छ। त्यसको ठीक माथि डुम्रेबेंसी गाउँ छ। त्यही गाउँको निकास खोल्सी भएर बग्ने गर्छ। वर्षातमा मात्रै पानी बग्ने सिँदुरे गहिरोमा दुइटा खोल्सी मिसिन्छ।
दाहिनेतर्फको खोल्सीमा पानी र थोरै परिमाणमा डेब्रिज अर्थात् गेग्रान बहाव भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। देब्रेतर्फबाट भने उच्च पानी र गेग्रान बहाव भएको देखिएको उल्लेख गरिएको छ। जसका कारण करिब ५.५ मिटर चौडाइको खोल्सी खोतलिएको सडक डिभिजन भरतपुरका एक कर्मचारीले जानकारी दिए।
यसरी गेग्रान र पहिरो आउने खोल्सीको स्रोत पहिल्याउँदै जाँदा राजमार्गदेखि ९०० मिटर माथि पहिरो फेला परेको प्रतिवेदनमा उल्लेख छ।
पहिरोको स्रोत भर्खरै खनिएको ग्रामीण सडक हो। त्यस ठाउँमा कविलासबाट डुम्रेबेँसीसम्म जाने सडक ट्र्याक पहिले नै खनिएको थियो। त्यही गाउँ भएर डुम्रे लेकसम्म पुग्ने नयाँ ट्र्याक खनेको भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष सूर्यबहादुर गुरूङले बताए। वडाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर नयाँ ट्र्याक खोलेको थियो। सडक खन्दा निस्केको माटो पाखा र खोल्सीमा हालिएको थियो।
सडक डिभिजन भरतपुरले पनि त्यही नयाँ सडकलाई पहिरोको स्रोतको रूपमा उल्लेख गरेको छ। त्यही पहिराको माटोलाई अविरलरूपमा परेको वर्षात्ले बगाउँदा गेग्रान बहावको रूप लिएको र गाडी नै बगाउने विपद् निम्तिएको निष्कर्ष छ।
‘पहिराको स्रोत हालै माथिदेखि तलतर्फ करिब ६५० मिटर लामो र ५ मिटर चौडाइमा खनिएको ग्रामीण सडक देखिन्छ। उक्त सडकमा ’स्लोप प्रोटेक्सन’ र नाला व्यवस्थापनमा कुनै काम गरेको छैन,’ गेग्रान बहावको कारण पहिल्याउँदै भनिएको छ।
उक्त ग्रामीण सडकको पहिलो मोडदेखि पाँचौं मोडसम्मको जमिन ७० सेन्टिमिटरदेखि २.३ मिटरसम्म भासिएको देखिएको छ। त्यस्तै सडकको दायाँबायाँ जमिन चिरा पर्नुका साथै बाटो खनेर पुरेको माटो पनि भास्सिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
बाटोको माथिल्लो भेगको पहाड देखिमुनि कटान गरिएको ठाउँको ’स्लोप फेलियर’ भएको पाइएको प्रतिवेदनमा चित्रण गरिएको छ। यसका अतिरिक्त दोस्रो घुम्तीनजिकै पानीको नयाँ मूलसमेत पलाएर बगेको देखिएको कारण औंल्याइएको छ।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।
गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ। ७ जनाको सनाखत हुन बाँकी छ।
यही घटनाको अध्ययन गर्न सरकारले असार ३१ गते गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन्।