जोडिनुहोस
  • होमपेज
  • पोखरामा सार्वजनिक यातायात बन्द

पोखरामा सार्वजनिक यातायात बन्द

कास्की । मुलुकको पर्यटकीय राजधानी पोखरामा आइतबार बिहानदेखि सार्वजनिक यातायात ठप्प पारिएको छ । बस, ट्याक्सी, जीपसहित यात्रुवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले सार्वजनिक यातायात ठप्प गराएका हुन् । सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने निर्बाध सञ्चालन भइरहेका छन् ।

उक्त महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए ।

“हामीले ४८ घण्टाको समय दिएर हाम्रा मागहरू सरकारसमक्ष राखेका थियौँ, सरकारले कुनै पनि चासो नदिएपछि आजदेखि प्रदेशभर सार्वजनिक यातायात घर तथा ग्यारेजमा थन्क्याएर बसेका छौँ,” उनले भने ।

प्रदेश सरकारले निजी सवारीसाधन (रातो प्लेट)मा यात्रु बोक्न दिने गरी राइड सेयरिङलाई वैधानिकता दिन लागेको व्यवसायीको आरोप छ । यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले रातो नम्बरप्लेटका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई यात्रु बोक्न दिने गरी कार्यविधि बनाएको छ ।

यातायात व्यवसायीसँग परामर्श नगरी एकलौटी रूपमा निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न वैधानिकता दिन लागिएकामा महासंघको आपत्ति रहेको अध्यक्ष पौडेलले बताए । यातायात व्यवसायीले यातायात प्राविधिकीकरण गठन गरी सञ्चालनको कार्यविधि, यातायात, मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन, सडक सुरक्षा योजना लागु गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका