काठमाडौं– असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।
चन्द्र पन्तको डेब्यू निर्देशकीय सिनेमाको सार्वजनिक पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा सिनेमाको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । सिनेमाको पोस्टरले दर्शकलाई उत्साहित बनाउने विश्वास निर्देशक पन्तको छ । नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता ढुंगाना, ब्रह्मानन्दम अली, सञ्चीता लुइटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।