जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विमानस्थलभित्र हवाई इन्धन डिपो : उच्च जोखिममा राजधानी

त्रिभुवन विमानस्थलभित्र हवाई इन्धन डिपो : उच्च जोखिममा राजधानी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा छ ।

त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामंगलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो।

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि १०० मिटर दूरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ ।

हवाइ इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै डिपो खोलिएको थियो। निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै वेला गम्भीर क्षति गर्न सक्ने उच्च सम्भावना छ।

यही साउन ९ गते धावनमार्गबाट करिब दुई सय मिटरमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाले त्यो जोखिम अरू उच्च रहेको स्पष्ट देखाएको छ । उक्त दुर्घटना विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा भयो, त्यही दुर्घटना विमानस्थलको दक्षिण पश्चिम क्षेत्रतिर भएको भए डिपोलाई प्रत्यक्ष असर पर्ने थियो।

आयल निगम, हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख प्रदीप यादवले यो तथ्यलाई स्वीकार गर्दै भने, ‘गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्स उत्तरतिरबाट उडेर दायाँ मोडेको भए डिपोमै परी ठूलो क्षति हुने थियो।’

यो डिपो अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डविपरीत छ। त्यसैले आईकाओले डिपो त्यहाँबाट हटाउन नागरिक उड्डयन प्राधिकरणमार्फत नेपाल आयल निगमलाई दुई वर्षअघि नै पत्राचार गरेको थियो। तर निगम व्यवस्थापनले भने यसलाई त्यति गम्भीर रूपमा लिएको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका