जोडिनुहोस
  • होमपेज
  • हनुमन्ते नदी बस्तीमा पस्यो

समाचार

हनुमन्ते नदी बस्तीमा पस्यो

  • Sagarmatha TV
  • मङ्लबार, साउन २२, २०८१
हनुमन्ते नदी बस्तीमा पस्यो

भक्तपुर। भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ । जिल्लाको हनुमानघाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायतका क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ । राम मन्दिर, बाराहीस्थानका मन्दिर, विद्यालय र नदीकिनारका बस्तीमा पानी पसेको हो ।

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।

भक्तपुरका विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहमा पुगेको र नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्क रहन सन्देश एवं सूचना जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा निकाय, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखेको जानकारी दिँदै प्राकृतिक विपत्ति परेको स्थानमा आधा घण्टामै सुरक्षा निकायको टोली पुगेर उद्धार गर्ने, जोखिम रोकथाम र राहत सामग्री वितरण गर्दै आएको बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका