जोडिनुहोस
  • होमपेज
  • अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला ।पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनलेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो ।

शुभकालिका–१ स्थित गगनलेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँ जाने सवारिसाधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन् । गगनेखोलामा ठूलो ढुंगासहितको लेदो माटोको पहिरो आउँदा सडक अवरुद्ध भएको छ । बिहानदेखि पहिरो पन्छाउने कार्य जारी रहेको सूचना अधिकारी जिटीले बताए।

‘सबैभन्दा ठूलो ढुङ्गासहितको पहिरो गगनेखोलामा आएको छ । चार पाँच किमीको दूरीमा अन्य स्थानमा पनि पहिरो गएको जानकारीमा आएको छ । गगनेखोलाको ढुङ्गालाई पन्छाउने र सम्भव नभए ‘ब्रेकर’ लगाएर फुटाल्ने तयारी छ’, उनले भने ।

गगनेखोलाबाहेक अन्य स्थानमा गाह्रो नभएको र पहिरो पन्छाउने कार्य सकिएपछि सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजनको मेसिनसहित जनशक्ति बिहानदेखि पहिरो पन्छाउने काममा लागिरहेका छन् ।

खसेको ढुंगा ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने जिटीले बताए । गोगनेखोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्गमा कुनै पनि सवारिसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका