जोडिनुहोस
  • होमपेज
  • स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

स्याङ्जा– स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०–८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आव २०८०–८१ मा स्याङ्जाबाट नौ हजार चार सय ८७ जनाले नागरिकता लिएका थिए ।

सोही अवधिमा चौध हजार आठ सय २२ जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल १५ हजार एक सय ९३ राहदानी सिफारिस गरिएको थियो ।

सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो । गत आवमा राहदानी बनाएकामध्ये तीन सय ७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उनको भनाइ छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आव २०८०–८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता चार हजार नौ सय चार वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए ।

सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट चार हजार पाँच सय ८३ नागरिकता वितरण भएका थिए । दुवै कार्यालयबाट गत आवमा कूल नौ हजार चार सय ८७ नागरिकता वितरण भएका थिए । स्याङ्जाबाट वैवाहिक अङ्गीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए । स्याङ्जाबाट १९ र वालिङबाट पाँच वैवाहिक अङ्गीकृत नागरिकता वितरण भएका थिए । कूल चौध हजार आठ सय २२ राहदानीमध्ये स्याङ्जाबाट सात हजार चार सय ४३ र वालिङबाट सात हजार तीन सय ७९ वितरण भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका