जोडिनुहोस
  • होमपेज
  • उद्योगमन्त्री भण्डारीले गरे कोलकत्ता पोर्टको अवलोकन

उद्योगमन्त्री भण्डारीले गरे कोलकत्ता पोर्टको अवलोकन

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेका थिए ।

अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सबलीकरण, ‘ट्रान्ससिपमेन्ट मोडालिटी’, भण्डारण जाचँपासलगायतका विषयमा जानकारी लिए ।

नेपालका तर्फबाट पारवहन लागत कम गर्ने विषयमा राखेको मन्त्री भण्डारीको जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दिया र कोलकत्तामा सिधा कार्गो जहाजको व्यवस्था गरिएकाले सिङ्गापुरमा गरिने ट्रान्ससिपमेन्ट लागत कम भई सम्पूर्ण लागत नै घट्ने जानकारी दिएका छन् ।

पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरूले बताएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए । नेपाली महावाणिज्य दूतावास एवं नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको समन्वयमा छलफल भएको थियो ।

अवलोकन भ्रमणमा कलकत्तास्थित महावाणिज्य दूतावासका पदाधिकारी लगायतको उपस्थिति थियो । तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिई कलकत्तास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका