जोडिनुहोस
  • होमपेज
  • नेपाल-भारत परराष्ट्रसचिव भेट : दुई देशबीचका संयन्त्रहरूको बैठक सुचारू गर्नेबारे छलफल

नेपाल-भारत परराष्ट्रसचिव भेट : दुई देशबीचका संयन्त्रहरूको बैठक सुचारू गर्नेबारे छलफल

नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन् ।

विदेशसचिव मिस्रीले सोमबार काठमाडौंको नक्सालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकी सचिव लम्सालसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका बीचमा विगतमा भएका सहमतिहरू तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल-भारत सम्बन्धका सबै पक्षहरूका बीचमा समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरू र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरूको बैठक सुचारू गर्ने विषयमा पनि कुराकानी भएको बताए ।

‘नेपाल-भारत सम्बन्धको सबै पक्षहरूको बीचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराहरू समग्रमा छलफल भएको हो । खासगरी कुनै संरचनागत मेकानिज्मको बैठक होइन,’ प्रवक्ता राईले भने, ‘भारतीय विदेशसचिव उहाँको परिचयात्मक भ्रमणमा आउनुभएको हो । त्यो विषय भए पनि सबै विषयहरू छलफल भएको छ । भारतीय सहयोगबाट सञ्चालित विभिन्न परियोजनाहरू छ । हामी दुई देशका बीचमा विभिन्न संयन्त्रहरू छ । त्यो संयन्त्रहरूको बैठक सबै सुचारू रूपमा आगामी दिनमा गर्नुपर्छ भन्नेदेखि लिएर अगाडि कसरी जाने भन्ने विषय हो ।’

उनले भारतका विदेशसचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेशसचिव र नेपालकी परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताए । भेटका क्रममा कुनै सहमति वा समझदारीहरू नभएको उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका