तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरो जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरो जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो ।
बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरो गएको भन्दै स्थानीय सिद्धान्त गर्जा मगरले पहिरोले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए ।
स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी राजमार्गका केही पहिरो सफा गरेका छन् । आज बिहान स्थानीयले पहिरोले खसेको ढुङ्गा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताए ।
गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ ।
उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्दछन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त खण्डलाई लिने गरिएको छ ।
उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल सम्पन्न पश्चात् बाटो छोटिन्छ ।
पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय मगरले जानकारी दिए