जोडिनुहोस
  • होमपेज
  • मुसहर बस्तीमा खानेपानीको धारा जडान

मुसहर बस्तीमा खानेपानीको धारा जडान

नारायणगढ । जिल्लाको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ ।

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको संयुक्त साझेदारीमा सो बस्तीमा खानेपानीको धारा जडान गरिएको हो ।

आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बञ्चित २४ माझी मुसहर घरधुरीलाई खानेपानीको मिटरसहित धारा जडान गरिएको वडा नं ७ का वडाध्यक्ष सजना महतोले जानकारी दिए।

उनले वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५० प्रतिशत लगानी तथा नगरपालिकाबाट जडान सामग्रीको सहयोगमा धारा जडान गरिएको बताए।

उनले वडा नं ७ मा दुई सय ५० धारा जोडिसकिएको र हाल २४ धारा जोडिएको जानकारी दिए। सीमान्तकृत माझी मुसहर समुदायको न्यूनतम आवश्यकता पूरा गर्न वडा कार्यालय सधैँ प्रतिबद्ध रहेको उनको भनाइ छ । रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशतसम्म अनुदान दिँदै आएको उल्लेख गरे।

उनले स्थानीय सरकार र सामुदायिक वनसँग सहकार्य गरी विभिन्न समुदायलाई शतप्रतिशत अनुदानमा धारा जडान गरिएको र यसरी धारा जडान गरेका घरधुरीको सङ्ख्या चार सयको हाराहारीमा पुगेको बताए।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले मुसहर समुदायको विकासको लागि सामुदायिक वनले धेरै कुरामा सहयोग गर्दे आएको बताए। उनले यहाँको बालबालिकालाई विद्यालयमा बालकक्षा सञ्चालन, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युत्को लागि मिटर बक्स जडान गरेको उल्लेख गरे ।

सामान्य आधारभूत कुरामा समेत पछाडी परेको यस समुदायका व्यक्तिलाई स्वरोजगार बनाउनका लागि वनसँगै विभिन्न संस्थाले पनि सहयोग गर्दे आएको र यसले उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको बताए । यस बस्तीमा मानिसको जीवनस्तर उकास्नका लागि परम्परागत पेसा माछा मार्नेभन्दा अन्य पेसामा संलग्न गराउनका लागि वनले पहल गदै आएको उनको भनाइ छ ।

नगर प्रमुख प्रह्लाद सापकोटाले पालिकाका नागरिकलाई स्वच्छ खानेपानी दिन तथा नगरवासीको आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै यसमा लगानी गर्न पालिका तयार रहेको बताए। उनले नागरिकको न्यूनतम आवश्यकता पूरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने उल्लेख गरे ।

बेरोजगारको समस्या समाधान गर्नका निमित्त नगर प्रमुख उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यम गर्न मन लागेको व्यक्तिले बिना ब्याजको तीन लाखसम्म प्राप्त गर्नसक्ने प्रमुख सापकोटाले जानकारी दिए। आर्थिक अभावका कारणले कोही पनि नगरवासी खाली हात बस्न नपर्ने उनको भनाइ थियो ।

खानेपानीमा पालिकाले एकमुष्ट अनुदान हालेको भन्दै उनले हाल मासिक ९० खानेपानीको शुल्क रहेको र माझी मुसहर बस्तीमा सो शुल्क घटाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका