जोडिनुहोस
  • होमपेज
  • महोत्तरीमा नवविवाहिता युवतीको शङ्कास्पद मृत्यु, हत्या भएको माइतीपक्षको आरोप

महोत्तरीमा नवविवाहिता युवतीको शङ्कास्पद मृत्यु, हत्या भएको माइतीपक्षको आरोप

काठमाडौं। महोत्तरीमा एक नवविवाहिता महिलाको शङ्कास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छन्।

माइतपक्ष भने दाइजोको निहुँमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ। रिनाको मङ्गलबार राति १ बजे मृत्यु भएको हो। घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो। प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले बताए।

उनका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्‍वरमा उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन्। माइत पक्षले आफूहरू पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ। रिना मङ्गलबार मात्रै माइतबाट ससुरा फर्किएकी थिइन्।

मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डीएसपी जैसवारको भनाइ छ। घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन। धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका