जोडिनुहोस
  • होमपेज
  • डेङ्गीका बिरामी पाँच हजारभन्दा बढी, उपत्यकामा ६ सय १६ सङ्क्रमण

डेङ्गीका बिरामी पाँच हजारभन्दा बढी, उपत्यकामा ६ सय १६ सङ्क्रमण

काठमाडौँ। देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार पाँच हजार पाँच सय ८९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीनजना डेङ्गी रोगको सङ्क्रमणका कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

गण्डकी प्रदेशमा सबभन्दा बढी

डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार चार सय ४० देखिएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार चार सय ८६, गण्डकी दुई हजार चार सय ४०, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जना सङ्क्रमण देखिएको छन् ।

उपत्यकामा ६ सय १६

काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

हैजा ६८ जनामा

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६८ जना पुगेका छन् ।

महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरमा ४८, काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई र मकवानपुर एकजनामा हैजा पुष्टि भएको छ ।

हैजा अति सङ्क्रामक र शीघ्र फैलिने पखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका