जोडिनुहोस
  • होमपेज
  • सडक सुरक्षामा नेपालको अवस्था दक्षिण पूर्वी एशियामै सबैभन्दा खराब ; विश्व स्वास्थ्य सङ्गठन

सडक सुरक्षामा नेपालको अवस्था दक्षिण पूर्वी एशियामै सबैभन्दा खराब ; विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सडक सुरक्षाका दृष्टिमा नेपालको अवस्था दक्षिण पूर्वी एसियाका १० देशमध्ये सबैभन्दा खराब रहेको जनाएको छ । अस्ति सोमवार सार्वजनिक प्रतिवेदनमा नेपालमा प्रति एक लाख मानिसमा २८ दशमलव २ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको र यो दक्षिण पूर्वी एशियाका १० देशमध्ये सबैभन्दा उच्च रहेको उल्लेख छ ।

सन् २०११ मा नेपालमा सडक दुर्घटनाका कारण झन्डै ६ हजार आठ सय जनाले ज्यान गुमाएकोमा सन् २०२१ मा झन्डै आठ हजार पाँच सय जनाले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले सडकमा जोखिम झनै बढिरहेको जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा २२ प्रतिशतभन्दा धेरै पैदलयात्री र साढे ३ प्रतिशतभन्दा धेरै साइकल चालक रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घले सडक सुरक्षाका लागि निर्धारण गरेका १२ वटा लक्ष्यमध्ये राष्ट्रसङ्घको सडक सुरक्षासँग सम्बन्धित महासन्धिहरूमा आबद्ध हुने बाहेक अरू सबैमा नेपालको प्रस्तुति कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालले सन् २०२१ देखि २०३० बीचको अवधिमा सडक दुर्घटनामा हुने मृत्यु ५० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ । तर सरकारको पछिल्लो तथ्याङ्कअनुसार बितेको १० वर्षमै सडक दुर्घटनामा २४ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

सडक सुरक्षामा नेपालमा रहेका कमजोरीलाई बुँदागत रूपमा उल्लेख गरेको प्रतिवेदनमा डब्ल्यूएचओले नेपाललाई सडक सुरक्षा कायम गर्न तत्कालै राष्ट्रिय रणनीति र समयतालिकासहितको कार्ययोजना ल्याउन, सडकहरूको सुरक्षा अडिट गर्न र दुर्घटनापछिको आपत्कालीन उद्धारसम्बन्धी कार्ययोजना बनाएर लागू गर्न सुझाव दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका