जोडिनुहोस
  • होमपेज
  • भियतनाममा आँधीका कारण नौजनाको मृत्यु

अन्तर्राष्ट्रिय

भियतनाममा आँधीका कारण नौजनाको मृत्यु

भियतनाममा आँधीका कारण नौजनाको मृत्यु

हा लोङ । दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्म कम्तीमा नौजनाको मृत्यु भएको छ ।

आँधीका कारण भियतनामका विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुंगा डुबाएको र पहिरो गएको बताइएको छ । उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान खसेको पहिरोमा परी चारजनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै भीएन एक्सप्रेसले भनेको छ, “यागीले ल्याएको केही घण्टाको भारी वर्षापछि मध्यराततिर पहिरो गई एक घरलाई पुरेको छ । घटनामा ५१ वर्षीय एक पुरुषले भागेर ज्यान बचाउन सफल भएको तर उनकी श्रीमती, छोरी र दुई नातिनातिना पुरिएका थिए ।” उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रुखहरू ढालेको छ ।

शनिबार हुरीले घरका छानालाई उडाएर टाढाटाढासम्म पुर्‍याएको र त्यसकारण भएका दुर्घटनामा चारजनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । हाई डुओङ प्रान्तमा शुक्रबार हावाहुरीका कारण एउटा रुख ढलेर एक व्यक्तिको मृत्यु भएको थियो ।

बन्दरगाह सहर हाई फोङका धेरै क्षेत्रमा आइतबार बाढीको पानी आधा मिटर (१.६ फिट) सम्म जमेको र बिजुलीको लाइन र खम्बामा क्षति पुगेको छ । युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत हा लोङ बेमा आइतबार बिहान भएको क्षतिको अध्ययन गर्दा मछुवाहरू स्तब्ध भएका थिए ।

स्थानीय बासिन्दाका अनुसार, तुआन चाउ टापुमा रहेको हाई औ नामक डुंगा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ डुंगामा गम्भीर क्षति पुगेको छ ।भियतनामभन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा निम्त्याएको विपत्तिमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका