जोडिनुहोस
  • होमपेज
  • पूर्वाधारको नामकरण सहिदको नामबाट राख्न आग्रह

पूर्वाधारको नामकरण सहिदको नामबाट राख्न आग्रह

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमनले भौतिक पूर्वाधार निर्माण गर्दा त्यसको नामहरू सहिदको नामबाट राख्नुपर्ने धारणा राखेका छन् ।

सहिदलाई मान्छेहरूले बिर्सिँदै गइरहेको बताउँदै उनले सहिदलाई सम्झनका लागि सरकारले बनाउने हरेक पुल पुलेसा, सडक, अस्पताल, एयरपोर्टलगायत अन्य भवन वा भौतिक पूर्वाधारको नाम सहिदको नामबाट राख्यो भने त्यसलाई पुस्तौँसम्म मान्छेले सम्झिने भएकाले सरकारले कुनै पनि निर्माण कार्य गर्दा सहिदको नामबाट गर्न आग्रह गरे ।

मधेस आन्दोलन क्रममा २०७२ भदौ २५ गते सहादत प्राप्त गरेका तीन जना सहिदको सम्झनामा सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेश सांसद सुमनले मधेसी जनताले अहिले पाएको अधिकार त्यही सहिदको कारणले सम्भव भएको कारण त्यसलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिए । मधेस आन्दोलन हुँदा कसैले पनि विश्वास गरेका थिएन देशमा गणतन्त्र आउँछ सङ्घीयता आउँछ र मधेसका छोराछोरी मुख्यमन्त्री, मन्त्री बन्छन् तर त्यही सहिदको सहादतको कारण ती सबै सम्भव भएको र आज छुट्टै मधेस प्रदेश पनि पाएको उनले बताए ।

नेताहरुका लागि प्रेरणाको स्रोत नै सहिद हो भन्दै उनले भने, ‘कुनै सहिदका छोरा छोरी पढ्न पाएको छैन भने त्यसलाई पढाउने जिम्मेवारी हाम्रो हो, कुनै सहिद परिवारको घरमा चुल्हो बलेको छैन भने त्यो चुल्हो बाल्ने जिम्मेवारी हाम्रो हो ।’ भदौ २५ गते एकै दिन सञ्जय चौधरी, नितु यादव र दिलीप यादवले सहादत प्राप्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष ममता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालका कोषाध्यक्ष एवं पूर्वमन्त्री सुरिता साहले मधेसका युवाको बलिदानका कारण यो उपलब्धि प्राप्त भएको बताइन् । उपलब्धिको रक्षाका लागि पनि सहिदलाई सम्झनु पर्छ र उसलाई सम्मान गर्नुपर्ने कुरामा उनले जोड दिइन् । लोसपा नेपालका उपमहासचिव एवं मधेस प्रदेशका सांसद उपेन्द्र महतोले पनि मधेसी युवाले दिएको सहादतका कारण देशमा सङ्घीयता स्थापित भएको बताए । मधेस आन्दोलन नभएको भए, मधेसी युवाले रगत नबगाएको भए देशमा मधेस सरकार, मधेस प्रदेश पनि स्थापना हुने थिएन भन्दै उनले सहिदले देखेको सपना पुरा गर्नका लागि अझै सशक्त भएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा तमलोपाका नेता एवं सभासद् डा.विजय सिंह, नेता सञ्जय यादव, मधेस सहिद प्रतिष्ठानका उपाध्यक्ष रामनरेश यादव, रामप्रसाद गिरी, राष्ट्रिय मुक्ति क्रान्तिका नेता रमन पाण्डे, सञ्जय सिंहलगायत महिला नेतृ विभा ठाकुर, पुनम झा, बिन्दु ठाकुर, गुलु देवी पासवालगायतले पनि सहिदको सम्झना गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका