जोडिनुहोस
  • होमपेज
  • समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन प्राथमिकतामा रहन्छ : महामन्त्री थापा

समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन प्राथमिकतामा रहन्छ : महामन्त्री थापा

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन गर्ने कुरा सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा रहने बताएका छन् ।

उनले सरकारको न्यूनतम साझा कार्यक्रम कुन तहसम्म जाने ? न्यूनतम साझा कार्यक्रमलाई कति न्यूनतम बनाउने ? कति अधिकतम बनाउने ? कस्तो बनाउने ? कुनकुन कुरा राख्ने ? भन्ने आज बस्ने मस्यौदा समितिले टुंगो लगाउने बताएका हुन् ।

उनले भने, ‘हामी अब कुन तहसम्म जाने ? न्यूनतम साझा कार्यक्रमलाई कति न्यूनतम बनाउने ? कति अधिकतम बनाउने ? कस्तो बनाउने ? कुनकुन कुरा राख्ने ? भन्ने सन्दर्भमा प्रारम्भिक छलफल भइसकेपछि मात्रै यसले कति समय लाग्ला भन्नकुरा टुंगो लाग्ला । तर अब हामीले सरकार गठन भएकै केही दिन भइसकेकाले अब यसलाई लामो समय लगाउन उपयुक्त हुँदैन । कांग्रेस र एमालेबीचमा सात बुँदे जुन समझदारी भएको छ । मुख्य आधार भनेको त्यही नै हो ।’

उनले नेपाली कांग्रेस र नेकपा एमालेबीचमा सरकार निर्माणताका भएका सात बुँदे सहमतिअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने बताए । उनले संविधान, कानुन, अवस्थाको स्रोत, साधन समयको सीमा सबैकुरालाई बुझेर न्यूनतम के गर्न सकिन्छ ? भन्नेबारेमा एउटा साझा धारणा बनाइ छिटै सार्वजनिक गर्ने बताउनु भयो । उनले भने, ‘आफ्ना आफ्ना पार्टीका दस्ताबेजहरु छन् । हाम्रा घोषणापत्रहरु छन् । हामी भिन्नभिन्न पार्टी हो । हामी लामो समय प्रतिष्पर्धा गर्दै आएको पार्टी हो । भोलि प्रतिष्पर्धा गर्ने पार्टी पनि हो । हाम्रो बीचमा सबैकुरा मिल्छन् भन्ने पनि छैन । त्यसैले यसलाई न्यूनतम भनिएको हो । सँगै सरकारमा बस्दैगर्दा हामीले चाहेका सबैकुरा पनि लागू हुँदैन । उहाँहरुले चाहेका सबैकुरा पनि लागू हुँदैन । हामी सँगै बस्दै गर्दा आजको दिनमा संविधान, कानून, अवस्थाको स्रोत, साधन समयको सीमा सबैकुरालाई बुझेर न्यूनतम के गर्न सकिन्छ ? भन्नेबारेमा एउटा साझा धारणा बनाउने हो । छोटो समयमा बनाउने कुरा नै उपयुक्त हुन्छ । ‘

उनले कांग्रेसले न्यूनतम साझा कार्यक्रममा नेपालमा राजनीतिक स्थायित्व, सरकारको स्थायित्व, प्रदेश सरकारलाई थप फंग्सनल बनाउनुपर्ने र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनेगरी न्यूनतम साझा कार्यक्रम बनाउन जोड दिने बताए । संघीयतालाई प्रभावकारी बनाउने विषयलाई सम्बोधन गर्नेगरीकन संविधानलाई परिमार्जन र पुनरावलोकन गर्नेकुरा नेपाली कांग्रेस पार्टीकै प्राथमिकता रहेको बताए । जनताले देख्ने, महसुस गर्ने, जनताको मनमा परिवर्तन आयो भन्ने आभाष हुनेगरी सरकारले काम गर्न सहज हुने कुरामा जोड दिने पनि उल्लेख गरे ।

उनले भने, ‘अर्थतन्त्र जुन खालको संकटबाट गुज्रिरहेको छ, स्रोत र साधनको जुन सीमितता र दबाब छ, तर केही कुराहरु परिवर्तन हुन थाल्यो भन्नेकुराको आभाष नागरिकलाई दिन नसक्ने हो भने यो छटपटि झनै बढ्दै जाने स्थिति छ । यसलाई सम्बोधन गर्नेगरी छोटो समयमा अहिलेको अवस्थाभित्र भएको स्रोत र साधनको सिमितताको बीचमा पनि प्रत्येक मन्त्रालयले कम्तिमा पनि छोटो समयभित्र एउटा दुई वटा जनताले देख्ने, महसुस गर्ने, जनताको मनमा परिवर्तन आयो भन्ने आभाष हुनेगरी केही डेलिभरी गर्नुपर्नेछ । लम्बेतान, असम्भव कुराहरु गर्नु हुँदैन । सरकारलाई स्मार्ट बनाउने गरी कार्यक्रम ल्याउनेछौँ । न्यूनतम कार्यक्रमअनुसार सरकार चल्नेगरी हामीले कार्यक्रम बनाउनेछौँ । चुस्त, सानो र बाँध्ने गरी बनाऔँ ।’

महामन्त्री थापाले सरकारलाई स्मार्ट बनाउने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै न्यूनतम कार्यक्रमअनुसार सरकार चल्ने बताए । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय मस्यौदा समिति बनेको छ । जसमा नेपाली कांग्रेसबाट महामन्त्री थापासँगै सांसद डा. प्रकाशशरण महत र नेकपा एमालेबाट उपमहासचिव द्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । मस्यौदा समितिको बैठक आज बस्दैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका