नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट राजीनामा दिएर इमानको मानक राख्न सुझाव दिएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले पदीय इमान नभए पनि लोकतन्त्रमा संख्याले काम गर्ने स्मरण गराउँदै रानामगरलाई पद छाडेर इमानको मानक राख्न सुझाव दिएकी हुन् ।
‘जब पदीय इमान हुँदैन, तब लोकतन्त्रमा संख्याले आफ्नो काम गर्छ,’ गौतमले भनिन्, ‘मेरो उपसभामुखलाई आग्रह छ तपाईंले इमानको मानक राख्दिनुस् । उपसभामुख पदबबाट राजीनामा दिनुस् ।’
उपसभामुख रानामगरबारे सदनमा करुणा र संख्याको कुरा उठेको भन्दै उनले संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको विषय भएको पनि बताइन् ।
‘यहाँ करुणाका कुरा उठ्यो, संख्याको कुरा पनि उठ्यो,’ सांसद गौतमले भनिन्, ‘तर, विषय यहाँ करुणा र संख्याको होइन संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको हो ।’
उपसभामुखजस्तो पदीय जिम्मेवारीमा रहेर रानामगरले असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराधसमेत भएको दाबी गरिन् ।
‘यस सदनमा उपसभामुख माथि प्रश्न उठेका छन् । प्रश्न व्यक्ति इन्दिरा रानामगरको होइन, उपसभामुख इन्दिरा रानामगरको हो । उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको हो,’ गौतमले भनिन्, ‘उपसभामुख जस्तो पदीय जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराधसमेत हो, जसको सन्दर्भमा स्वयम् उपसभामुखले साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकारिसक्नु भएको छ ।’