जोडिनुहोस
  • होमपेज
  • गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरी : प्रधानमन्त्री ओली

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरी : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको थियो । यसवर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता स् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस, २०८१ देशभर मनाउन लागिएकामा प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन् ।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “भएको लगानी र स्रोतसाधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ ।”

सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारणरप्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

“समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरू लाग्नुपर्नेछ”, प्रधानमन्त्रीले भनेका छन् ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसइई)को आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापी रूपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको उनको कथन छ । उनले त्यसमा थप सुधार गर्न विविधता व्यवस्थापन गर्दै शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील, सीपयुक्त जनशक्ति निर्माणमा हाम्रो प्राथमिकता रहेको बताएका छन् । “विद्यालय तहदेखि उच्च शिक्षासम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाइ विश्वमा उत्पन्न लाभ र अवसरको उपयोगसँगै नवीन र सिर्जनशील कार्यमा केन्द्रित बनाउन र मर्यादित वातावरणमा सिक्न र सिकाउन प्रतिबद्ध हुनु आजको आवश्यकता हो”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि जिम्मेवार र जबाफदेही भएर स्वउत्प्रेरित भई थप योगदान गर्न सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका