जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगरकी उपमेयर डंगोल राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाँदै

काठमाडौं महानगरकी उपमेयर डंगोल राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाँदै

काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनीता डंगोल संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदै छिन् । उनी बुधवार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

उपप्रमुख डंगोललाई महासभा बैठकअन्तर्गतको ‘समिट अफ द फ्युचर, २०२४’का लागि काठमाडौंस्थित राष्ट्रसंघको आवासीय प्रतिनिधिको कार्यालय र नेपाल सरकारले युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेको हो । महासभाको कार्यक्रम तालिकाअनुसार यही असोज ६ र ७ गते ‘समिट अफ द फ्युचर’ कार्यक्रम हुनेछ । यसले दिगो विकास र सम्बन्धित वित्तपोषणलाई समेट्ने पाँच अध्यायलाई समावेश गरेको छ ।

‘शान्ति र सुरक्षा, विज्ञान र प्रविधि, युवा र भावीपुस्ता अनि विश्वव्यापि शासनको रुपान्तरणलाई कार्यक्रमले समेट्ने छ,’ डंगोलको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोनापछिको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानवस्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषय महासभामा समेटिने छन् । यी विषयलाई केन्द्रमा राखेर सञ्चालन हुने विभिन्न चरणका कार्यक्रममा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले भाग लिनुहुनेछ ।’

हालसालै संघीय संसदले पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश दिनसक्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेका कारण पनि यो महासभा नेपालका लागि निकै महत्वपूर्ण हुने उमप्रमुखको सचिवालयको दाबी छ । ‘नेपालको शान्ति प्रक्रियालाई निर्णायक विन्दुमा पुर्याउन यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सभामार्फत विश्वकै लागि नमूनाका रुपमा प्रस्तुत गर्ने अवसर हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

समिट अफ द फ्युचरका अतिरिक्त उपप्रमुख डंगोल राष्ट्रसंघका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ । भदौ २७ गते औपचारिक उद्घाटन भएको यो महासभा असोज १४ गतेसम्म चल्नेछ भने प्रधानमन्त्री ओलीले १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । समिट अफ द फ्युचरका लागि उपप्रमुख डंगोलसँगै पर्शुराम नगरपालिकाका मेयर भरत जोशी र नेकपा (एमाले)का युवा नेता अब्दुस मियाँ पनि मनोनयनमा परेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका