जोडिनुहोस
  • होमपेज
  • काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० बेपत्ता

काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० बेपत्ता

काभ्रेपलाञ्चोक । तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठुलो जनधनको क्षति भएको छ । बाढी–पहिरोमा परी तीन जनाको मृत्यु भएको छभने १० जना बेपत्ता भएका छन् । जिल्लास्थित तीन राजमार्ग अवरुद्ध छन् ।

अविरल वर्षाका कारण आज बिहान बनेपा नगरपालिका–१० जनागालस्थित एक घरमा पहिरो खस्दा छ वर्षीय यूनिष हुमागाईंको मृत्यु भएको छ । घाइते अवस्थामा यूनिषलाई तत्काल उद्धार गरी भक्तपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय सञ्जिव विष्टले जानकारी दिए। उनका अनुसार घरमाथिको जग्गा प्लटिङबाट आएको पहिरोले हुमागाईँको घर भत्किएको थियो । बनेपा पुलबजारस्थित राजमार्ग डुबानका कारण उनको उपचारार्थ भक्तपुर लैजानुपरेको थियो । वर्षाका कारण आज बिहान दुई घर भत्किँदा तेमाल गाउँपालिका–७ चापाखोरीमा दुई महिलाको मृत्यु भएको छ । स्थानीय शिक्षक प्रेमबहादुर लामाका अनुसार मृत्यु हुनेमा ५० वर्षीया पाताली तामाङ र उनकी ३९ वर्षीया बहिनी रहेका छन् । बहिनी पातालीको घरमा मकै भाँंच्ने काममा धुल्खुबाट सघाउन आएकी थिइन् । घटनापछि प्रहरी चौकी नारायणस्थानबाट उद्धार भइरहेको बताइएको छ ।

यस्तै बेथान्चोक गाउँपालिकामा घर जाने क्रममा ५ नं वडा च्याल्टीमा गएको पहिरोमा पुरिएर शुक्रबार साँझ ४५ वर्षीय प्रेमबहादुर वाइबाको निधन भएको छ । वडाध्यक्ष राजकुमार वाइबाका अनुसार खोला तरेर घर जाने क्रममा बारीको ढिस्को बाटोमा आउँदा उनी पुरिएका हुन् । च्याल्टीमा खोला ठुलो भएकाले खोला तर्न नसकेका स्थानीयलाई वाइबाले खोला तारी दिएर आफूपछि तरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार गएरातीदेखि १० जना पहिरोमा परी बेपत्ता भएका छन् । आज बिहान साढे ३ बजे पनौती नगरपालिका–१२ कलाँतीमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती बेपत्ता भएका छन् । यस्तै बिहान करिब ६ बजे बनेपा–१४ थालचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका हुन् ।

बिहान ६ बजे नमोबुद्ध नपा–२ श्यामापाटीमा पहिरोमा परी दुई बेपत्ता तथा पनौती–११ थुम्कीमा एक घर पुरिँदा चार जना बिहानदेखि सम्पर्कविहीन अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धारमा कठिनाइ भए पनि अहिले यी घटनास्थलमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका