काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ ।
मृत्यु हुनेमा कर्णेल मिलन केसी रहेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार उनी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए । साथीहरुसँग उनी घुम्न सिन्धुलाल्चोक पुगेका थिए ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए । पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।
कर्णेल केसीको घर दोलखा । उनी आफ्ना कोरियन साथीसँग घुम्न गएका थिए । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए ।