जोडिनुहोस
  • होमपेज
  • प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं । गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठित कार्यदलका संयोजकहरु आजदेखि कार्यक्षेत्रमा खटिएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठजना सह–सचिव बुधबार खटिएको जानकारी दिए । बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपालञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी,सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई अति भारी वर्षका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने कार्यदेश छ । क्षतिग्रस्त सडकहरुको शीघ्र मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद्पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहनेछन् । कार्यदललाई आगामी असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधी दिइएको छ ।

कार्यदलले दैनिक रुपमा प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउनेछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दशजना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरुमा खटाइएको जानकारी दिए ।

“हामीले दशजना अधिकतलाई बाढी/पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ,” अधिकारीले भने, “उहाँहरुले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउनेलगायत काम गर्नेछ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका