जोडिनुहोस
  • होमपेज
  • बिरामीलाई राहत हुने गरी सेवा प्रदान गर्न स्वास्थ्यमन्त्री पौडेलको आग्रह

बिरामीलाई राहत हुने गरी सेवा प्रदान गर्न स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका मन्त्री पौडेलले प्रतिष्ठानले अन्य सरकारी अस्पतालका तुलनामा प्रतिष्ठानको सेवा राम्रो रहेको भए पनि अझ उदाहरणीय बनाउनुपर्ने बताए । ‘तपाईंहरुको सेवा तुलनात्मक रुपमा राम्रो छ, तर खराबमध्ये राम्रो मात्र भएर भएन, यसलाई अझ उदाहरणीय बनाउन जरुरी छ’, उनले भने । मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गरे । ‘तपाईंहरुले अनलाइनमार्फत सेवा थाल्नुभएको छ, उनले भने, तर यो धेरै नागरिकले थाहा पाउने गरी हुनुपर्यो । र, अझ सहज हुने गरी हुनुपर्यो ।’

मन्त्री पौडेलले अस्पताललाई अब विशिष्टिकृत बिरामीहरुको पनि उपचार हुने गरी सेवा विस्तार गर्न सुझाव दिए । आफू अस्पताललाई के चाहिएको छ भनेर बुझ्न पनि आएको भन्दै मन्त्री पौडेलले सेवालाई प्रभावकारी बनाउन चाहिने कुरामा सघाउन मन्त्रालय तयार रहेको बताए ।

अस्पताल अवलोकनका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति डा. राजेश गंगोलले आफ्नै श्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गरिएको भन्दै अस्पतालको नयाँ भवनका लागि स्रोत खोजिदिन आग्रह गरेका थिए । मन्त्री पौडेलले अस्पतालमा बिरामीको चाप र साँघुरो भवनका कारण परेको अप्ठेरो आफूले महसुस गरेको भन्दै प्रतिष्ठानको भवनका लागि सकेसम्म सरकारी नभए वैदेशिक सहायता भए पनि खोज्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए । ‘यसवर्षको बजेट आइसकेकाले श्रोत नभए पनि अरु विकल्प वा वैदेशिक सहायताका लागि भए पनि भवनको श्रोत जुटाउन मेरो पहल हुनेछ,’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले विपद्का क्रममा घाइते बिरामीको उपचारबारे जानकारी लिंदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिए । प्रतिष्ठानका रजिष्ट्रार डाक्टर पारसकुमार आचार्यले दैनिक १५ सय हाराहारीमा ओपीडी बिरामीको उपचार गरिएको भन्दै सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका