जोडिनुहोस
  • होमपेज
  • चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यो समयमा चोरी सिकारीका घटना बढी हुने भएकाले सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । नियमित जाँचसँगै आकस्मिक गस्ती र जाँचलाई बढाइएको उनले बताए ।

उनले भने,“निकुञ्ज क्षेत्रमा रहेका ६७ वटा पोष्टलाई चुस्त बनाएका छौँ । अझै प्रभावकारी रूपमा काम गर्नका लागि समुदायसँग नियमित सम्पर्कमा रहन निर्देशन गरिएको छ ।”

नेपाली सेना र निकुञ्ज प्रशासनका ती पोष्टबाट नियमित गस्ती र सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले थपे, “चाडपर्वको समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि समुदायमा आधारित चोरी सिकारी नियन्त्रण एकाइलाई समेत चनाखो रहन आग्रह गरिएको छ ।”

यहाँ पाइने पाटेबाघ र एकसिङ्गे गैँडाको चोरी सिकारी विगतका वर्षहरू चाडपर्वको समयमा बढी हुने गरेको भन्दै पुनले यो समयमा हात्तीबाट गरिने गस्ती, पैदल गस्ती, साइकल गस्तीलगायतलाई थप प्रभावकारी बनाइएको बताए ।

चाडपर्वको समयमा चोरी सिकारी हुनसक्ने क्षेत्रको पहिचान गरी संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन र व्यवस्थापनको काम गरिएको उहाँले जानकारी दिए ।

पछिल्ला समयमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाइएको उनले बताए । यस वर्ष निकुञ्ज र आसपासको क्षेत्रमा छवटा गैँडा मृत फेला परेका छन् । यसमध्ये एउटालाई करेन्ट लागेर मारिएको छभने अन्य कालगतिले मरेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका