जोडिनुहोस
  • होमपेज
  • माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ; विप्लव

माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ; विप्लव

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी एकताबद्ध भए ०६४ दोहोरिने बताएका छन् । ०६४ चैतमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा झण्डै बहुमत सिटसहित पहिलो दल बनेको थियो ।

चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै विप्लवले त्यसका लागि क्रान्तिकारीहरूको एकता आवश्यक रहेको बताए । सोही कार्यक्रममै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाँडै टुंगोमा पुर्‍याउने बताएका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एउटै ‘स्कुलिङ’बाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँ–बायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र वामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताइन् ।

यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले माओवादी आन्दोलनलाई एकताबद्ध गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा सामना सांस्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका