जोडिनुहोस
  • होमपेज
  • पोखरामा रास्वपा समर्थकले गरिरहेको आन्दोलनप्रति कांग्रेसको आपत्ति

पोखरामा रास्वपा समर्थकले गरिरहेको आन्दोलनप्रति कांग्रेसको आपत्ति

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कास्कीको पोखरामा गरिरहेको आन्दोलनप्रति आपत्ति जनाएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बुधबार प्रेस विज्ञप्ति जारी गरेर रास्वपाको पोखरामा जारी आन्दोलन प्रति आपत्ति जनाएको हो ।

‘राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई बाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्‍याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ,’ विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कानून सबैका लागि समान हुने र हुनु पर्ने भन्दै कांग्रेसले विधिको शासनमा कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुने रास्वपालाई स्मरण गराएको छ । संसदीय छानबिन समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएका कारण मन्त्रिपरिषद्ले निर्णय गरेर प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगेको कांग्रेसले जनाएको छ ।

प्रचलित कानूनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरु माथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्ने मान्यताप्रति कांग्रेस प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘विधिको शासन कायम गर्न, न्यायिक प्रक्रियालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पुर्‍याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौँ,’ कांग्रेसले भनेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help