विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा साहित्यिक विश्व सम्मेलन शनिबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाली साहित्यको विश्वव्यापिकरण, हाम्रो अभियान भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलन सुरु भएको हो । सम्मेलनको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । सो क्रममा प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्व धेरै रहेको बताए ।
उनले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारहरुलाई सम्मान गरेका थिए । सम्मेलन आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ ।