जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दुर्व्यवहार नगरेको बताएको छ । लामिछानेमाथि दुर्व्यवहार भएको खबरहरू सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति निकालेर सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा दुर्व्यवहार गरेको लगायतका आरोपको कास्की प्रहरीले खण्डन गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले निकाल्नुभएको विज्ञप्तिमा तथ्यहीन कुराको प्रचार नगर्न आग्रह गरिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गएको २ गते काठमाण्डौबाट पक्राउ गरेर कास्की लगेको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालत कास्कीले कात्तिक ८ गते अनुमति दिएको छ । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।