जोडिनुहोस
  • होमपेज
  • उडान अनुमति सकिएको जहाज जबरजस्ती त्रिभुवन विमानस्थलमा आएपछि…

उडान अनुमति सकिएको जहाज जबरजस्ती त्रिभुवन विमानस्थलमा आएपछि…

काठमाडौं । नेपालमा उडान अनुमति सकिएको थाई एयर एसियाको जहाज आज दिउँसो जबरजस्ती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न खोजेपछि आधा घण्टा बढी होल्डमा राखेर अवतरण गराइएको छ ।

उक्त जहाज स्थानीय समय अनुसार विहान ११ः ५० बजे थाइल्यान्डको बैंककबाट काठमाडौं उडेको थियो । दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने तालिका भए पनि करिब पौने ३ बजे मात्रै अवतरण भएको हो ।

उक्त जहाजले नेपालमा अवतरणको अनुमति लिएकाे थिएन । विमानस्थल कार्यालयले डाइभर्ट गर्न भनेको थियो । तर, उक्त जहाज अन्यत्र डाइभर्ट नभई आधाघण्टा बढी नेपाली आकाशमै फन्को मारिरह्यो ।

अनुमति नभए पनि अन्ततः जहाजमा रहेका यात्रुको सुरक्षाका लागि मानवियताका आधारमा अवतरण गर्न दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सामान्यतया अनुमति नलिएका जहाजलाई डाइभर्ट गरिने गरिन्छ ।

प्राधिकरणका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो । आजदेखि ‘विन्टर सेड्युल’ लागू भएको छ भने थाई एयरले अनुमति लिएको थिएन ।

यो घटनाले नियामक माथि समेत प्रश्न उठाएको छ । प्रणालीमा जहाज उड्नु अघि नै नेपाल आउँदै भन्ने थाहा हुन्छ । तर, विमानस्थल नजिक आइसकेपछि मात्रै थाहा पाएर रोकिनु र फेरि अवतरण गर्न दिनुले नियामकप्रति प्रश्न उठेको हो ।

क्यानले थाई एयर एसियालाई के कस्तो कारबाही गर्ने बारे छलफल गरिरहेको छ । थाई एयर एशियालले गत असोज १६ गतेदेखि बैंकक काठमाडौं व्यावसायिक डान थालेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका