जोडिनुहोस
शुक्रबार, कार्तिक १६, २०८१
शुक्रबार, कार्तिक १६, २०८१
  • होमपेज
  • लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट, २५३ मेगावाट भारततर्फ निर्यात

लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट, २५३ मेगावाट भारततर्फ निर्यात

काठमाडौं। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमान्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमान्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो ।

तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत् गृहहरु बाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात समेत गरिएको प्राधिकरणले जनाएको छ ।

गत वर्ष लक्ष्मी पूजाको दिन पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

लक्ष्मीपूजाको दिन निर्यात सहित प्रणालीमा समग्र विद्युत्को माग १ हजार ८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड १ हजार ९५५ मेगावाट थियो ।

यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका