जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • एक वर्षदेखि टहरामै छन् रुकुम पश्चिमका भूकम्पपीडित

एक वर्षदेखि टहरामै छन् रुकुम पश्चिमका भूकम्पपीडित

रुकुम। रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन भूकम्पले घर भत्काइदिएपछि कहिले त्रिपालमुनि त कहिले टिनको टहरोमा बस्न थालेको ठ्याक्कै एक वर्ष भयो ।

एक हिउँद र एक बर्खा टिनको टहरामा कटाएका उनी यो वर्षको जाडो पनि टिनकै टहरामा बित्ने हो कि भन्ने डर उनमा छ । गतवर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उनको परिवार हाल टिनको टहरामा छ । ‘हामीले एक वर्ष कष्टकर बितायौँ । अब फेरि चिसो बढ्न थालेको छ, यो वर्षको चिसो कसरी कटाउने भन्ने पिर छ’, पुनले भने ।

भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा बसिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामा छन् । कठ्याङ्ग्रिदो चिसोमा त्रिपाल, गर्मीमा टिनको टहरामा बस्न बाध्य यहाँका भूकम्पपीडितले अझै सुरक्षित आवास पाउन सकेका छैनन् ।

‘हामीले सरकारबाट समयमै घर निर्माणका लागि सहयोग पाउन सकेनौँ । हाम्रा बालबालिका र बुढापाकालाई कसरी बचाउने भन्ने पीर छ । गत वर्षझैँ यो वर्ष पनि कतिले चिसोको कारण ज्यान गुमाउने हुन्’, सानीभेरी गाउँपालिका–४ का हिरालाल परियारले भने ।

एक वर्षमा पनि सरकारले पुनःनिर्माण कार्यविधि ल्याउन सकेको छैन । भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको थियो ।

तर, उक्त रकम पूरा नदिएको भूकम्पपीडितको गुनासो छ । तत्काल त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भएपनि पुननिर्माण हुन नसकेको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताए । सङ्घीय सरकारले पुनःनिर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको उनको भनाइ छ ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुननिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर ३४ हजार नौ सय ८९ लाभग्राही छन् भने ३२ हजार नौ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन् । दुई हजार दुई जनाले पहिलो किस्ताकै रकम पाएका छैनन् । १६ हजार परिवारका लागि दोस्रो किस्ता निकासा भइसकेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका