काठमाडौं। अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्।
डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । एनबीसी न्यूजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ। ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको जनाएका छन्।
विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन्। एबीसी न्यूजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन्। तर यो सर्वेक्षण निर्वाचित हुनका लागि यकिन छैन। सर्वेक्षणअनुसार ५ प्रतिशत मतदाता अन्तिम समयसम्म पनि कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन्। जसका कारण दुईमध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ।
अमेरिकी राष्ट्रपतिमा विजयी हुन देशभरको समग्र मत बढी ल्याएर मात्र पुग्दैन। अमेरिकी राष्ट्रपतिको चुनाव ‘इलेक्टोरल कलेज’ प्रणालीमा आधारित भएकाले कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ। सन् २०१६ मा देशभरिबाट पाएको मत हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम भएको अवस्थामा पनि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए। सन् २००० मा राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन दलका जर्ज डब्लु बुसले डेमोक्रेटिक उम्मेदवार अल गोरको भन्दा पाँच लाख कम मत पाएका थिए।
राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ। अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ। दलहरूले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्छन्। इलेक्टरले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउने भए पनि आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्छन्।
दुई उम्मेदवारले पाएको इलेक्टोरल मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनले मतदानमार्फत सबैभन्दा बढी इलेक्टोरल मत पाउने तीन उम्मेदवारबीचबाट राष्ट्रपति छान्छ। यस्तो प्रक्रियाबाट अमेरिकामा सन् १८२४ मा मात्र राष्ट्रपति निर्वाचित गरिएको छ। राष्ट्रपतिमा विजयी भएका उम्मेदवारले चयन गरेका उपराष्ट्रपतिका उम्मेदवार पनि स्वतः निर्वाचित हुन्छन्। ट्रम्पले जेडी भेन्सलाई उपराष्ट्रपतिको उम्मेदारमा अघि सारेका छन् भने ह्यारिसले मिनिसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने निर्णय लिएकी छन्।
५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन्। त्यस्ता राज्यहरू ‘ब्लू’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन्। डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लू’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ।
४७औं राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिन्छ। मतदानको एकदिन बाँकी रहँदा आइतबार दुवै उम्मेदवारहरु अनिर्णित मतदातालाई आफ्नो पक्षमा पार्न स्वीङ स्टेटमा केन्द्रित भएका थिए।
राष्ट्रपतिमा निर्वाचित हुन स्वीङ स्टेटहरु पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा गरी ७ राज्य निर्णायक मानिन्छन्। कुल १६ करोड मतदातामध्ये साढे ७ करोड नागरिकले मतदान गरिसकेका छन्।
(एजेन्सीहरूको सहयोगमा)