सर्लाही। सर्लाहीको बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा चालकसहित २ जनाको मृत्यु भएको छ।
कारमा सवार एकजना भने पौडिएर बाँच्न सफल भएका छन्। मंगलबार बिहान ४ बजे ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित सरस्वती माविको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो।
कार पोखरीमा डुब्दा कार चालक गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र महोत्तरीको सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको छ। कारमा सवार ३ जनामध्ये महोत्तरीको गौशाला नगरपालिका–२का ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किन सफल भएका छन्।
पोखरीमा कार डुबेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय केशरगन्ज, भक्तीपुर र सशस्त्र प्रहरी बल सागरनाथ बेससहित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी बर्दिबासको टोलीले कारसहित शव निकालेको सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।