गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ। लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही ल्याउन लागिएको हो। विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन।
लामिछानेलाई रूपन्देही ल्याउने तयारीसँगै रास्वपाले भैरहवामा प्रदर्शनको तयारी गरिरहेको छ। नेता कार्यकर्तालाई बिहान १० बजे भैरहवामा उपस्थित हुन सो पार्टीले निर्देशन दिएको छ ।
यता सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन्। दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। यसै विषयको बयानका लागि लामिछानेलाई रूपन्देही ल्याउन लागिएको हो।