जोडिनुहोस
  • होमपेज
  • हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौंः मन्त्री पाण्डे

हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौंः मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। उपभोक्ताहरूको अधिकार हनन् हुनेगरि बढी भाडा लिने कम्पनीहरूलाई कारबाही गर्ने मन्त्री पाण्डेको भनाइ छ।

गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरूले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरूले गर्दै आएका छन्।

सो विषयमा जिज्ञासा राख्दा मन्त्री पाण्डेले भने, ‘उपभोक्ताहरूको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण मूल्यमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ। त्यो विपरीत उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छौँ।’

उनले हवाई भाडा वृद्धि बारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए। तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनको भनाइ छ।

हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरूले टिकटहरू होल्ड गर्ने र महङ्गोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको मन्त्री पाण्डेले जानकारी दिए। अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको उनले बताए। सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए।

मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको दाबी गरे। उहाँले भैरहवामा अहिले ५ वटा एअरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पु¥याउने भन्ने योजनामा मन्त्रालय रहेको बताउँदै उनले भने, ‘अहिले केही एअरलाइन्सहरु त्यहाँ गएका छन् । उनीहरूलाई त्यहाँ दिगो रुपमा राख्नका लागि सरकारका तर्फबाट गर्ने भनिएको कार्ययोजना र कार्ययोजना अन्तर्गतका कामहरू के कति भएका छन् र के कति गर्नुपर्ने छ भन्ने कुराको फलोअप गरिरहेको छु मैले।’

भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको उनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका