जोडिनुहोस
  • होमपेज
  • कांग्रेस-एमाले गठबन्धन समयको माग, भाजपा समर्थन गर्छ ; विजय जोली

कांग्रेस-एमाले गठबन्धन समयको माग, भाजपा समर्थन गर्छ ; विजय जोली

भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालमा बनेको कांग्रेस-एमाले सत्ता गठबन्धनलाई नेपालका लागि समयको माग भनेर टिप्पणी गरेका छन् । रिपोटर्स क्लबले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले कांग्रेस–एमाले सत्ता गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहनेसमेत बताएका ।

‘आजको सन्दर्भमा नेपालको भलाइका लागि, नेपालको विकास र बढोत्तरीको लागि कांग्रेस.एमाले गठबन्धन चलिरहेको छ’, उनले भने, ‘यो वैश्विक शान्ति, आर्थिक समृद्धि र यहाँका युवाको सशक्तिकरणको लागि अहिलेको समयमा बेस्ट कम्बिनेशन हो । हामी यसमा समर्थन गर्छौं ।’

उनले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप नगरेको दाबीसमेत गरेका छन् । प्रधानमन्त्री ओलीको आशन्न चीन भ्रमण र बीआरआई परियोजनाबारे जोलीले यो नेपालको निर्णय भनेर टिप्पणी गरेका छन् ।

‘भारत नेपालको आन्तरिक सम्बन्धमा हस्तक्षेप गर्छ भन्ने आरोप छ । यो तथ्य ठीक होइन । भारतमा कोही आएर भन्यो भने हामीले सुन्नुपर्छ’, उनले भने, ‘तर, निर्णय नेपालको तन्त्रको हो, नेपालको सरकार र नेपाली जनताले निर्णय लिने हो । नेपाल शसक्त र बलियो रहे भारतले पनि आफूलाई मजबुत सम्झिनेछ ।’

नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्नेमा उनकै निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने उनले बताए । उनले हरेक देशले आफ्नो स्वार्थको लागि कूटनीतिक रुपमा हात मिलाउने गरेको सुनाए ।

‘हामीले धेरै वर्षदेखि पढेका, सुनेका छौँ। नेपालमा जहिले राज्यसत्ता परिवर्तन हुन्छ, नेपालका प्रधानमन्त्रीले सुरुमा भारतको भ्रमण गर्छन् । नेपालका प्रधानमन्त्री चीन, भारत र अमेरिका वा फ्रान्स र जर्मनी जाए, हामी उनीहरूको निर्णयको स्वागत गर्छौँ’, उनले भने, ‘भारतले कहिल्यै पनि छिमेकी देशलाई ऋणमा बाँध्ने कोशिश गरेको छैन । मलाई आशा छ–नेपालका प्रधानमन्त्री आफ्नो गठबन्धनसँग मिलेर बीआरआईबारे सम्झौता गर्नुहुन्छ, मलाई आशा छ त्यो नेपालको हितमा हुनेछ । आज उहाँ चीन जाँदै हुनुहुन्छ, भोलि भारत आउँदा हामी स्वागत गर्छौं ।’

नेता जोलीले नेपाल र भारतबीच रहेका सीमा विवाद पनि सरकारी, राजनीतिक र कूटनीतिक तहको सम्वादबाट हल गरिनुपर्नेमा जोड दिए । सीमा विवाद हल गर्न भारत सधैँ तयार रहेको उनको भनाइ छ ।

तर, नेपालमा भारतविरोधी भावना सिर्जना गर्न केही विषय उठाइने गरेकोमा उनले गुनासो पोखे । भारत सरकारले नेपालको जहिल्यै पनि हित चाहेको सुनाए ।

कुनै पनि मुलुकले आफ्नो पैसामा विवादित क्षेत्रको नक्सा समावेश गरेको नदेखेको भन्दै उनले नेपालले पछिल्लो समय आफ्नो एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेकोमा गुनासो गरे ।

जोलीले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भइसकेको नाताले लामो समयदेखि नेपाल आवातजावत गर्ने गरेको स्मरण गराएका छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका