नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् । हजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गर्नुभएको छ । खेलाडीको भूमिकामा विश्व विजेता अस्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय क्रिकेट टोलीका कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् भने मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिमले विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्गल्यान्डका सेफ अली जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र यूएईका रोहन मुस्तफालाई अनुबन्ध गरेको छ ।
यस्तै आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, ईशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्शनमार्फत टिममा भित्र्याएको थियो ।
आउँदो शनिवार मङ्सिर १५ गतेदेखि शुरू हुने पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन् । एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।