सुनसरी। जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् ।
धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ । इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा धान खेती गरेका थिए । उनले करिब एक लाख लगानी गरी चार बिघामा धान खेती गरेको बताउँदै धान थन्काएपछि मकै र गहुँ छर्ने बताए ।
गत वर्षभन्दा यस वर्ष धान ढिलो पाकेकाले अहिले बाली भित्र्याउने व्यस्तता बढेको उनको भनाइ छ । दुई बिघामा मकै र दुई बिघामा गहुँ लगाउने उनले जानकारी दिए ।
दसैँअघि धान भित्र्याउनुपर्नेमा समयमा धान नपाकेकाले अहिले उनलाई भ्याइनभ्याइ भएको हो ।
पाकेर घर भित्र्याउने समयमा पानी र असिनाले धान नष्ट गर्ने चिन्तासहित हतारमा बाली भित्र्याउन थालेको स्थानीय किसान रामचन्द्र यादवले बताए ।
धानसँगै मकै र गहुँ छर्नुपर्ने भएकाले धान भित्र्याउन हतार भएको किसान वीरेन्द्र यादवले बताए ।
सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकामा ९० प्रतिशत किसानले धान भित्र्याएर गहुँ र मकै बाली लगाउन खेत तयार गर्न थालेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए ।