जोडिनुहोस
  • होमपेज
  • श्रीलंकामा आँधीका कारण चार बालबालिकाको मृत्यु

श्रीलंकामा आँधीका कारण चार बालबालिकाको मृत्यु

कोलम्बो । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी श्रीलंकामा चार बालबालिकाको मृत्यु भएको छ । बाढीमा डुबेका अरू चार बालकको उद्धार गरिएको श्रीलंकाली उद्धारकर्मीले बिहीबार बताएका छन् ।

उद्धार टोलीका अनुसार, श्रीलंकामा बाढीका कारण दुई लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । भारतीय मौसम अधिकारीहरूले दक्षिणपश्चिम बंगालको खाडीमा रहेको आँधी चक्रवाती आँधीमा परिणत हुन सक्ने ‘सम्भावना’ रहेको बताएका छन् ।

उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा चक्रवातको जोखिम भएजस्तै यो क्षेत्रका निम्ति पनि चक्रवातको खतरनाक जोखिम रहेको पाइन्छ । श्रीलंकाको तट पार गरिसकेपछि उक्त आँधी भारतको दक्षिणी तमिलनाडु राज्यतिर उत्तरतर्फ अघि बढिरहेको जनाइएको छ ।

भारतीय मौसम विभागले शनिबार भारतको दक्षिणी तमिलनाडु र पुड्डुचेरी तटवर्ती क्षेत्रमा ७० किलोमिटर प्रतिघण्टासम्मको गतिमा आँधी प्रवाह हुने अनुमान गरिएको छ ।

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले विस्थापित आफ्नो घर जलमग्न भएकाले सार्वजनिक भवनमा अस्थायी आश्रय खोजिरहेका जनाएको छ । सरकारले सेनाको सहयोगमा राहत कार्य सुरु गरेको जनाएको छ । विपद् व्यवस्थापन केन्द्रले अझै पनि बेपत्ताको खोजी गरिरहेको उल्लेख गरेको छ । दक्षिण एसियाली क्षेत्रले वर्षासँग सम्बन्धित घातक बाढी र पहिरोजन्य जोखिम निरन्तर भोग्दै आएको छ । विज्ञले जलवायु परिवर्तनका कारण यस्ता खालका समस्या बढ्दै गएको उल्लेख गरेका छन् । रासस/एएफपी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका