उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा दिगो पूर्वाधारका लागि जियोटेक्निक्स सम्मेलनको उद्घाटन गर्दै सिंहले जलवायु परिवर्तनको असरका कारण भौगोलिक बनावट जोखिमयुक्त हुँदै गएकाले यसलाई नविनतम् प्रविधिद्वारा बलियो बनाउनका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताएका हुन् । नेपालको भौगोलिक बनावटका कारण धेरै प्राकृतिक प्रकोपका घटनाहरू भएकाले अव नविनतम् जियोटेक्निक्सको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरू देखिएको उनले बताए। त्यस्तै उनले अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, गलत संरचना निर्माणले पनि बेला बेलामा नागरिकहरू प्रभावित हुनुपरेको जिकिर गरे । सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी रहेको आयोजक नेपाल जियोटेक्निलकल सोसाइटीले जनाएको छ ।