म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्थिन् । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तित भएकी छन् ।
‘पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरु आउँथे,’ उनले भनिन् ‘मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि घटाउँदै लगेको छु ।’ रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो ।
कुनै समय प्रशस्त मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिँदै गएको छ । टोड्केबासीले धान, गहुँ, मकै, फापर, कोदोसँग मुला सटही गर्ने चलन थियो ।
बसाईसराई, जनशक्तिको कमी र बजारको समस्याका कारण किसानहरूले टोड्केमा मुला खेती घटेको स्थानीय तिजमाया पाइजाले बताइन् ।
‘घरमा उपभोग गर्ने, आफन्तलाई कोशेली पठाउने र टोड्के घुम्न आउने पर्यटकलाई बेच्नका लागि थोरै जमिनमा मात्र मुला खेती गरेका छौ,’ उनले भनिन् ‘चिसो हावापानीमा जैविक मलको प्रयोग हुने भएकाले यहाँको मुलाको छुट्टै महत्त्व छ ।’
साउन महिनामा रोपीने मुला कात्तिक मङ्सिरमा उखेल्ने गरिन्छ । एउटै मुलाको तौल छ किलोग्राम भएको किसानहरूले बताउँछन् । स्थानीय रातो र सेतो जातको मुला खेती हुने गर्छ । ताजा मुलाको अचार, सिन्की (गुन्द्रुक) र धजरा बनाएर तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ ।
पछिल्लो समय हिउँद याममा टोड्के घुम्न आउने आन्तरिक पर्यटकहरूले ताजा मुला र धरजा किनेर लैजाने गरेका छन् । आकार अनुसार प्रतिगोटा मुला २५ देखि ५० का दरले बिक्री हुने गरेको किसानको भनाइ छ ।
टोड्केको भ्रमणमा पुगेकी पर्वतको जलजला गाउँपालिका –२ बगरफाँटकी देवी जिसीले यहाँको मुला खानका लागि स्वादिष्ट हुने भएकाले कोसेलीका रुपमा किनेर ल्याएको बताइन् । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुला टोड्केको पहिचान हो ।
टोड्केमा हुँदै आएको स्थानीय जातको मुलाको संरक्षण, बजारीकरणका साथै सिन्की र अचार बनाउने सिप विकासको तयारी गरेको रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए ।