जोडिनुहोस
  • होमपेज
  • विकल पौडेललाई २ वर्ष कैद, १३ करोड ५८ लाख रुपैयाँ जरिवाना

विकल पौडेललाई २ वर्ष कैद, १३ करोड ५८ लाख रुपैयाँ जरिवाना

पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो ।

भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना कैदको सजाय तोकिएको हो ।

प्रिन्टिङ मेसिन खरिदका लागि ७६ करोड रुपैयाँ विनियोजन भएकोमा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रम भन्दा बाहिर गई पेपर बेस्ड र कार्ड बेस्ड प्रिन्टिङ मेसिन खरिद गरी ४० करोड ७५ लाख रुपैयाँ हानी नोक्सानी भएको ठहर अदालतले गरेको छ ।

यस्तै अदालतले म्याक्स इन्टरनेसनल प्रालिका सीईओ अकबर हुसेनलाई पनि १३ करोड ५८ लाख जरिवानाको र १ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।

अन्य प्रतिवादीहरु सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापा कार्यकारी निर्देशक पौडेलको निर्देशअनुसार खरिद प्रक्रियामा सहभागी भएकाले बदनियतपूर्ण संलग्नता नरहेको भन्दै उनीहरुलाई सफाइ दिएको छ ।

पौडेल यसअघि नै भ्रष्टाचार कसुरमा जेल सजाय कट्टा गरिरहेका छन् । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार आरोपमा विशेषले २०८१ जेठ ८ गते २५ करोड ४७ लाख बिगो असुल र त्यति नै रकम जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो ।

त्यसको दोस्रो दिन नै अख्तियारले उनीविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका