जोडिनुहोस
  • होमपेज
  • विद्युत् प्राधिकरणको कार्यालयमा मन्त्रीको कार्यकक्ष बनाइएको भन्दै माओवादीको विरोध

विद्युत् प्राधिकरणको कार्यालयमा मन्त्रीको कार्यकक्ष बनाइएको भन्दै माओवादीको विरोध

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले विद्युत् प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै विरोध जनाएको छ । बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट विरोध जनाएका हुन् ।

उनले विद्युत् प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको बताए । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधवार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाइ बसेका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रले विरोध जनाएको हो ।

प्रवक्ता सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले जुन लाइन काट्ने कुरा गरिरहेको छ । त्यसमा मन्त्रीले नै अनौठो इतिहासमै कहले नभएको कुरा विद्युत् प्राधिकरणमा नै कार्यकक्ष खोलेर बसेर त्यहाँ जुन विद्युत् प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ । यस अर्थमा वास्तवमा सरकारले बिचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ । यसका विषयमा पनि व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत गर्नेछौँ ।’

बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा छलफल गरेको प्रवक्ता सापकोटाले बताए । उपचुनावले पार्टीको बारेमा राम्रो सन्देश प्रवाह गरेको माओवादी केन्द्रको निष्कर्ष छ । ‘हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा पनि छलफल भयो । अरु समसामयिक विषयमा पनि छलफल भएको छ । उपचुनावले निकै राम्रो सन्देश प्रवाह गरेको छ । अहिले हामी जनतामा एक्लै चुनावमा गयौँ । जनताले पनि अनुमोदन गरेका छन्,’ उनले भने, ‘हाम्रो पार्टी ०६४ पछि एकताबद्ध भएर जनतामा गयो । त्यसले निकै सकारात्मक नजिता दिएको छ । प्रारम्भिक समीक्षामा धेरै उत्साहवद्र्धक र धेरै महत्वपूर्ण आधारहरू थपिएका छन् । सरकारको उपस्थिति शून्य जस्तो लागिरहेको छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका