काठमाडौं। सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र आठ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ । शुक्रबार सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले सो जानकारी गराएको हो ।
अदालतले बनाएको योजना अन्तर्गत आठ वर्ष नाघेका मुद्दाहरू जम्मा एक सय ५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए । उनले २०८२ सालको असार मसान्तसम्म आठ वर्ष पुराना मुद्दाहरू शून्यमा झार्ने लक्ष्य अनुसार मुद्दा फर्स्योट गरिरहेको बताए । उनले सर्वोच्च अदालतमा आफूहरूले ‘जिरो आवर’लाई संस्थागत सुधारको निम्ति उपयोग गरेको बताए ।
उनले भने, “अब हामीसँग आठ वर्ष पुरानो मुद्दाहरू एक सय ५४ थान मुद्दा बाँकी रहेका छन् । अब यसलाई असारसम्म जिरोमा ल्याउने लक्ष्य रहेको छ । हामीले बनाएको योजना अन्तर्गत जसरी भए पनि आठ वर्ष नाघेका मुद्दाहरू जम्मा एक सय ५४ थान रहेका छन् । यो आउने ०८२ सालको असार मसान्तसम्म त्यसलाई शून्यमा झार्ने हो, आठ वर्ष पुराना मुद्दा नराख्ने हो । त्यसरी गएको हो हामी । जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेका छौं ।’
अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा सुरू गरिएको बताएको छ ।