जोडिनुहोस
  • होमपेज
  • प्रहरीले रवि लामिछानेको डायरी गायब पारेको रास्वपाको आरोप

प्रहरीले रवि लामिछानेको डायरी गायब पारेको रास्वपाको आरोप

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्‍याइएको भन्दै आपत्ति प्रकट गरेको छ। रास्वपाले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रत्यक्ष निर्देशनमा प्रहरीले यस्तो काम गरेको जिकिर गरेको छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट रहेको छ। सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराइ राति सुतिरहेको बेलामा अचानक उठाइ मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पु¥याइको रहेछ। यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सुत्रबाट प्राप्त भएका छन्,’ कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल चलेको उसको ठहर छ।

यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि रास्वपाले बताएको छ। ‘हामी यसको घोर भर्त्सना गर्दछौं, सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ। यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ। यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ रास्वपाले भनेको छ। लामिछाने कसुरदार नभइ एक आरोपित मात्र भएको रास्वपाले बताएको छ। सरकारको कानुनी प्रक्रियामा साथ दिएर सभापति लामिछानेले नागरिक कर्तव्य निर्वाह गरिरहेको बताएको छ।

‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं। अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारवाही गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

राज्य संयन्त्र रास्वपा र यसका सभापतिविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको यस घटनाले स्पष्ट बनाएको उसले बताएको छ।‘आज सांसद लामिछानेका माध्यमबाट दुई तिहाईको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्दत रहेको छ। तसर्थ राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं,’ रास्वपाले भनेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका