काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले पहिलो पावर प्लेमै शीर्ष क्रममा चार ब्याटरलाई गुमाएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको खेल सकिँदासम्म ३६ रन बनाउँदा शीर्ष क्रममा पाँच ब्याटरलाई गुमाइसकेको छ ।
लुम्बिनीका ओपनर अर्जुन साउद ‘गोल्डेन डक’ भए । अर्का ओपनर उन्मुक्त चन्द पनि चार रनमै पभेलियन फर्किए । यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका कप्तान रोहितकुमार पौडेलले पनि आज पाँच रनमात्रै थप्न सके । टम मुरेसले सात रन जोडे । साद बिन जफर पनि ‘गोल्डेन डक’ भए ।
लुम्बिनीबाट हाल क्रिजमा रहेका सन्दीप जोरा १० र विवेक यादव ६ रनमा खेलिरहेका छन् । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले तीन र स्टक कुग्गेलेनले दुई विकेट लिएका छन् । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो ।