
काठमाडौँ । नागढुंगा–नौबिसे सडकखण्ड निर्माण कार्यका लागि आजदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । आजदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौं र धादिङ प्रशासनको समन्वयमा यो निर्णय भएको हो । यसअघि राति बन्द गरेर निर्माण हुँदै आएको थियो ।
आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि दिउँसो काम गर्नुपर्ने जनाएपछि प्रशासनले अनुमति दिएको हो। प्राविधिक कारणले दिउँसो निर्माण गर्नुपर्ने भएकाले अनुमति दिइएको प्रजिअ तिवारीले जानकारी दिएका छन् ।
सूचनाअनुसार काठमाडौंबाट जाने सवारी नागढुंगा र नौबिसेतर्फबाट आउने सवारी खानीखोलामा रोकिनेछ। बन्दको समयमा वैकल्पिक मार्गका रुपमा धार्के–सितापाइला र टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनिएको छ।