जोडिनुहोस
  • होमपेज
  • भारत फर्किए शिखर धवन, यसकारण नखेल्ने भए एनपीएलका बाँकी खेल

भारत फर्किए शिखर धवन, यसकारण नखेल्ने भए एनपीएलका बाँकी खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवनलाई बिदाइ गरेको छ। सोमबार स्वदेश फर्कन लागेका धवनलाई कर्णाली याक्सका व्यवस्थापक, प्रशिक्षक र खेलाडीहरूले बिदाइ गरेका हुन्।

कर्णाली याक्सको टिम बसेको होटल हिल्टनमा टिमका खेलाडीहरूले धवनसँग बिदाइ भेट गरेपछि उनी त्रिभुवन विमानस्थल पुगेर भारत फर्किएका हुन्। शिखर धवन एनपीएलमा कर्णाली याक्सबाट कम्तिमा चार खेल खेल्ने सम्झौता गरेर नेपाल आएका थिए।

कर्णालीले चौथो खेल आइतबार खेलेको थियो। शिखरले बाँकी खेलमा घुँडाको समस्याका कारण खेल्न नसक्ने बताएपछि कर्णालीले बिदाइ गरेको हो। भारत फर्किनुअघि उनी सगरमाथा आधारशिविर पुगेका थिए।

शिखर धवनले यसकारण नखेल्ने भए एनपीएलका बाँकी खेल
एक खेलबापत ३० हजार अमेरिकी डलर पाउने गरी कर्णाली याक्समा सम्झौता गरेका धवनले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार आफ्नो चौथो खेल खेले। उनले कम्तिमा चार खेल खेल्ने गरी सम्झौता गरेका थिए। शनिबार विराटनगर किंग्सविरूद्धको खेलको बीचमा टेलिभिजन लाइभमा बोलेका धवनले आफ्नो घुँडाले साथ दिएमा अर्को सिजन खेल्न आउने बताए। उनले एनपीएलमा नेपाली खेलाडीको प्रदर्शनको पनि प्रशंसा गरेका थिए।

उनले बाँकी खेलमा घुँडाकै समस्याका कारण खेल्न नसक्ने बताइएको छ। गत सिजनको आईपीएलमा उनले पञ्जाव किंग्सबाट खेलेका थिए। त्यतिबेला पनि उनको काँधमा चोट लागेको थियो। उनले गत सिजन पञ्जावका लागि पाँच खेल मात्र खेलेका थिए।

आईपीएलपछि अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट संन्यास लिएका धवनले आफू चोटबाट शतप्रतिशत निको हुन नसकेको बताएका थिए। उनले संन्यास लिनुको कारण आफ्नो उमेर समेत बताएका थिए। उनले ३८ वर्षको उमेरमा संन्यास लिएका थिए। भारतीय क्रिकेट नियन्त्रण बोर्डले राष्ट्रिय टोली तथा घरेलु क्रिकेट खेल्ने खेलाडीलाई विदेशको क्रिकेट खेल्ने अनुमति दिँदैन। संन्यासपछि मात्र अर्को देशमा क्रिकेट खेल्न पाइने भएका कारण धवन एनपीएल खेल्न नेपाल आएका हुन्।

उनी जारी एनपीएल खेल्ने भारतको राष्ट्रिय टोलीबाट खेलेका एक मात्र खेलाडी हुन्। एनपीएलमा उनीसँगै न्युजिल्यान्डका जिमी निशम, अस्ट्रेलियाका बेन कटिङ र पाकिस्तानका सोहेल तन्विर जस्ता चर्चित खेलाडी आएका छन्। उनीहरूले भने सिजनका पूरै खेल खेल्नेछन्।
धवन नोभेम्बर २९ मा नेपाल आएका थिए। एनपीएल उद्घाटनमा सहभागी भएका उनले पशुपतिनाथको दर्शक समेत गरेका थिए।

धवन विराटनगरविरूद्धको आफ्नो अन्तिम खेलमा ओपनिङ गर्दा ५ रनमा आउट भएका थिए। उनी विराटनगरका प्रतिश जिसीको बलमा बोल्ड भएका थिए। यससँगै जिसी धनवको विकेट लिने पहिलो नेपाली बलर बनेका थिए। उनले चारमध्ये एक खेलमा अर्धशतक प्रहार गरे। काठमाडौं गुर्खाजविरूद्ध नटआउट ७४ रन जोड्दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन बनाएका थिए। उनले चार खेलमा कुल १३६ रन जोड्न सके। जनकपुरविरूद्ध खेल्दा क्यानेडियन अलराउन्डर हर्ष थाकर र चितवनविरूद्ध खेल्दा नामिबियाका लोफ्टी इटनले धवनको विकेट लिएका थिए।

धवन कर्णालीको टोलीमा हुँदा टोलीको वातावरणमा निकै फरक परेको कप्तान सोमपाल कामीले बताएका थिए। उनले धनवले नेपाल युवा खेलाडीलाई टिप्स दिएको सोमपालको भनाइ छ। उनले नेपाली ब्याटरलाई लामो समय मैदानमा टिकेर खेल्न समेत सुझाव दिएका थिए।

एनपीएलकै बीच आफ्नो ३९ औं जन्मदिन मनाएका धवनले त्रिवि मैदानमा पनि छुट्टै माहोल सिर्जना गरेका थिए। जन्मदिनको भोलिपल्ट विराटनगरविरूद्ध खेल्दा फ्यानहरूले ठूलो हुटिङ गरेर शुभकामना समेत दिएका थिए। उनी त्रिवि मैदानको माहोलमा निकै रमाएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका